रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा क्षेत्र) मा आज मध्यरातबाट लकडाउन शुरु हुने भएको छ ।
साउन ३१ गते शनिबार राती १२ बजे देखि लागु हुने गरि भदौ ५ गते राती १२ सम्मका लागि लकडाउन हुने सिद्धार्थनगर नगरपालिकाले जनाएको हो । लकडाउनको समय स्वास्थ्य सेवा सम्बन्धि सबै कामहरु, दमकल, विद्युत, सरसफाई, खानेपानी लगायत अत्यावश्यक काम गर्ने जनप्रतिनिधि तथा कर्मचारीहरुले अनिवार्य रुपमा आफ्नो परिचय पत्र साथमा बोकेर हिँड्नुपर्ने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
खाद्यान्न, तरकारी फलफूल दुध तथा दुधजन्य पदार्थको बिक्रि बितरण आवश्यक दुरी कायम गरी बिहान ६ बजे देखि ९ बजे सम्म र साँझ ५ बजे देखि ७ बजे सम्म सञ्चालन गर्नुपर्ने सिद्धार्थनगर नगरपालिकाले जनाएको छ । बैँक तथा बित्तिय संस्थाहरुलाई काउण्टर सर्भिस पूर्णरुपमा बन्द गरी कम भन्दा कम कर्मचारी मार्फत विद्युतिय माध्यमबाट मात्र सेवा सञ्चालन गर्न नगरपालिकाले अपिल गरेको छ ।
औद्योगिक तथा निर्माणजन्य कार्यमा संलग्न कर्मचारी तथा श्रमिकहरुको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउने जिम्मेवारी स्वयं रोजगारदाताले लिनेगरी उद्योग तथा निर्माणजन्य कार्य सञ्चालन गर्न सकिने सूचनामा उल्लेख छ । यदि सोको पालना गरेको नपाइएमा प्रचलित कानुन बमोजिम कार्वाही अघि बढाउने नगरपालिकाले जनाएको छ ।
त्यस्तै सिद्धार्थ राजमार्ग हुँदै आवागमन हुने सवारी साधनहरु नगरक्षेत्रभित्र रोक्न सख्त मनाही गरिएको छ भने खाद्यजन्य पदार्थको लोड/अनलोड गर्ने सवारी साधनहरुले सुरक्षा सावधानी अपनाई सुरक्षाकर्मीको रोहबरमा बेलुकी ७ बजे देखि ११ बजे सम्म मात्र गर्न पाइने नगरपालिकाले जनाएको छ ।
नगर क्षेत्रभित्रका नापी, मालपोत, आन्तरिक राजस्व कार्यालय र अन्य सरकारी कार्यालयहरुमा अत्यावश्यक सेवा मात्र प्रवाह गर्न आवश्यक कर्मचारीहरुको व्यवस्थापन गर्न सम्बन्धित कार्यालय प्रमुखहरुलाई नगरपालिकाले निर्देशन दिएको छ । ठेला, साइकल जस्ता साधन प्रयोग गरि फुटपाथ, सडक, मायादेवी लगायतका हाटबजारमा ठेला, साइकल जस्ता साधन प्रयोग गरी कुनैपनि बस्तु तथा सेवा व्यापार गर्न नपाइने नगरपालिकाले जनाएको छ । नेपाल सरकारले सञ्चालन गर्न नपाइने भनी रोक लगाएका अन्य कुनैपनि क्रियाकलाप सञ्चालन गर्न नपाइने सूचनामा उल्लेख छ ।
सिद्धार्थनगर नगरपालिकाभित्र आउनेहरु लकडाउन अवधी शुरु हुनु अगावै आउनुपर्ने र सिद्धार्थनगर छोड्नेहरुले नगर छोडिसक्नुपर्ने अनुरोध गर्दै नगरपालिकाले शनिबार दिनभरको समय दिएको थियो ।