काठमाडौं । पछिल्लो २४ घण्टामा १५ सय ३९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १५ सय ३९ जना कोरोना संक्रमित थपिएको बताएका हुन् ।
देशभरका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा १० हजार ६ सय ११ जनामा गरिएको पीसिआर परीक्षणको क्रममा उनीहरुमा संक्रमण पुष्टि भएको हो । योसँगै हालसम्म कुल संक्रमितको संख्या ५८ हजार ३ सय २७ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६८ जना कोरोनाबाट मुक्त भई घर फर्किएका छन् । यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ४१ हजार ७ सय ६ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३७९ पुगेको छ ।