झापा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी नगरपालिका–११ झरना पुलनजिक मंगलबार दिउँसो पिकअप गाडी र स्कुटर एकआपसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ ।
बिर्तामोडबाट दमकतर्फ आउँदै गरेको प्र १–०२–००२ च ६४५४ नम्बरको पिकअप र विपरीत दिशातर्फ जाँदै गरेको प्र १–०१–०१२ प ३३७१ नम्बरको स्कुटर ठोक्किएर दुर्घटना भएको हो । दिउँसो २ः३० बजेतिर दुर्घटना हुँदा स्कुटर चालक शिवसताक्षी–९ का १९ वर्षीय सुजल अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका अधिकारीलाई उपचारका लागि बिर्तामोडको बी एन्ड सी अस्पताल पुर्याउनसाथ चिकित्सकले ३ः३० बजेतिर मृत घोषित गरेका हुन् । पिकअप चालक तेह्रथुमको म्याङलुङ नगरपालिका–४ का ३६ वर्षीय अर्जुन शंकरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सवारीसाधनको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । थप अनुसन्धान भइरहेको जानकारी प्रहरीले दिएको छ ।