काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको् बैठक बोलाउनु भएको छ । बैठक आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो । बैठकले के–के विषयमा निर्णय गर्ने भन्ने बारे खुलाइएको छैन । आजको बैठकमा कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा छलफल केन्द्रीत हुन सक्ने र आवश्यक निर्णय आउन सक्ने एक मन्त्रीले बताएका छन् ।
बैठकले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस लाई पारित गर्ने सम्भावना रहेको छ । सीसीएमसीले निषेधाज्ञाको समयमा गाडीको चापलाई कम गर्न बैंक तथा वित्तीय संस्थाका एक चौथाई शाखाहरु मात्रै सञ्चालन गर्न सिफारिस गरेको छ ।
त्यसमा पनि एक चौथाई कर्मचारी राख्नु पर्ने र त्यसको सहजीकरण नेपाल राष्ट्र बैंकले गर्नुपर्ने भनिएको छ । सीसीएमसीले सरकारी कार्यालयमा पनि एक चौथाई मात्रै कर्मचारी राखेर सञ्चालन गर्न सिफारिस गरेको छ । यस्तै बैठकले होटेल क्वारेण्टीन नियम पालना नगर्ने लाई कानुन बमोजिम जरिवाना गर्ने तथा होटेल क्वरेण्टीनको व्यवस्थापनमा लापरबाही गर्ने सम्बन्धित होटेल सञ्चालक लाई पनि कारबाही गर्न सिफारिस गरेको छ ।