पुस्कर खड्का
३१ चैत्र, रामेछाप । दोलखाको विगु गाउँपालिकमा गाडी दुर्घट्ना हुँदा चार जनाको मृत्यु भएको भने १८ जना घाईते भएका छन् । प्रदेश नं ३–०३–२३ च ७५८० नम्बरको गाडी गएराति करिब साढे १० बजेको समयमा विगु गाउँपालिका वडा नम्बर ४ स्थित चार गोलाई भन्ने स्थानमा दुर्घट्ना भएको दोलखा प्रहरीले जनाएको छ।
प्रहरीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा विगु गाउँपालिका वडा नम्बर ३ का २४ वर्षिय चण्डीका थापा, ४५ अजिता खत्री, ५२ वर्षिय राधा खड्का र ३५ वर्षिय विनोद केसि रहेका छन् ।उक्त गाडीमा २२ जना सवार रहेका थिए । जसमध्ये ४ जनाको मृत्यु भएको हो । १८ जना घाईते मध्ये ५ जनाको अवस्था गम्भिर र अन्यको अवस्था मध्यम रहेको दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक रञ्जन कोईरालाले जानकारी दिनु भयो ।
उहाँले दिएको जानकारी अनुसार उक्त गाडी सिन्धुपाल्चोकको तातोपानी गएर फर्किएको र गाडीमा सिंगटीबाट घर फर्किने यात्रु चढ्दा यात्रुको संख्या बढेको बताईएको छ ।उक्त सवारी साधन अनियन्त्रित भई दुघर्टना भएको र बस सडकबाट झण्डै २ सय मिटर तल खसेको र मृतकको शव पोष्टमार्टमका लागि सदरमुकाम चरिकोट स्थित प्राथमिक स्वास्थ्य केन्द्र राखिएको प्रहरीले जनाएको छ ।