३० चैत, बाँके । भारतमा दोस्रो लहरको कोरोना संक्रमणको जोखिम बढे संगै खुल्ला सिमानाकाका कारण नेपालमा पनि उत्तिकै संक्रमण जोखिम बढने सक्ने अवस्था छ ।
केहि दिन यता नेपालमा पनि कोरोना संक्रमणको जोखिममा विद्यालय सन्चालन गर्ने कि खोल्ने भन्ने विषयमा सरकार अलमलमा परेको छ । उक्त विषयमा आवश्यक निर्णयका लागि आज शिक्षा मन्त्रालय र सरोकारवालाहरु बीच छलफल सुरु भएको छ ।
मन्त्रालयले सरोकारवालालाई बोलाएर छलफल गरेको हो । शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको सचिवालयले मन्त्रालयमा छलफल जारी रहेको जानकारी दिएको छ ।
बालबालिकामा कोरोना भाइरसको नयाँ स्वरुप (युके भेरियन्ट) को संक्रमण उच्च देखिएको भन्दै कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले संक्रमण बढी भएका स्थानका शैक्षिक संस्थाहरु कम्तीमा तीन सातासम्म बन्द गर्न प्रस्ताव गरेको छ ।
तर यता प्याब्सनले बिद्यालय बन्द गर्ने विषयमा बिरोध जनाएको छ । प्याब्सनका अध्यक्ष टिकाराम पुरीले सरकारले लागु गरेको स्वास्थ्य सुरक्षा सम्बन्धि सबै मापदण्ड अपनाएर सावधानीका साथ विद्यालय सञ्चालन गर्न पाउनुपर्ने बताउँदै बिज्ञप्ति जारी गरेका थिए ।