इन्डोनेसिया र इस्ट तिमोरमा आएको बाढी र पहिरोमा परि मृत्यु हुनेको सङ्ख्या १८० भन्दा बढी भएको छ ।
जाकार्ताका सरकारी अधिकारीहरुले जनाए अनुसार यस बाढी र पहिरोको कारण अझै पनि दर्जनौँ व्यक्ति हराइरहेका छन् । यस बाढीबाट इन्डोनेसिया र छिमेकमा पर्ने इस्ट तिमोर बढी प्रभावित भएको अधिकारीहरुले जानकारी दिएका थिए ।
यस प्रकोपबाट इन्डोनेसियामा १४० र इस्ट तिमोरमा ३७ जनाको मृत्यु भएको इन्डोनेसियाको विपद् व्यवस्थापन निकायका प्रवक्ताले बताएका छन् । उनका अनुसार इस्ट तिमोरको राजधानी डिलीको आवासीय क्षेत्रमा धेरै व्यक्तिको मृत्यु भएको छ ।
उता इन्डोनेसियामा अझै पनि ७० भन्दा बढी व्यक्ति हराएका खोजी तथा उद्धार कार्यमा संलग्न टोलीले जानकारी दिएका छन् । बाढी पहिरोका कारण दर्जनौँ घर सहित भौतिक संरचनामा क्षति पुगेको जनाइएको छ ।