काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सम्पन्न भएको छ ।
संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकले नेपाली काँग्रेसका दुई सांसद प्रति शोक प्रस्ताव पारित गर्दै अर्को बैठक २३ गते सोमबार दिउँसो १ बजे बस्ने गरी बैठक सम्पन्न भएको हो ।
बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन प्रस्तुत भएको छ । सरकारको तर्फबाट भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले सो प्रतिवेदन बैठकमा प्रस्तुत गर्नुभयो । त्यस्तै, विकास तथा प्रविधि समितिका सभापति कल्याणी कुमारी खड्काले समितिको वार्षिक प्रतिवेदन २०७७ पेश गर्नुभयो । त्यस्तै सभापति खड्काले नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०७७ बैठकमा पेश गर्नुभएको छ ।
बैठकले नेपाली काँग्रेसका सांसद नविन्द्रराज जोशी र लक्ष्मी देवी भण्डारी प्रतिको शोक प्रस्ताव पारित गरेको छ । सांसद जोशीको चैत १३ गते उपचारको क्रममा ५९ वर्षको उमेरमा निधन भएको थियो भने भण्डारीको चैत १६ गते ६८ वर्षको उमेरमा निधन भएको थियो ।