बैतडी – बैतडीकी १७ वर्षीय किशोरी भागरथी भट्ट बलात्कार तथा हत्या प्रकरणका अभियुक्त दिनेश भट्टको डिएनए मृतकको भजाइनल स्वाबबाट निकालिएको डिएनएसँग मिलेको छ ।
केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणबाट डिएनए मिलेको पाइएको हो ।
गएको माघ २१ गते विद्यालय गएकी भागरथीको बलात्कार पछि हत्या भएको थियो । बलात्कार र हत्याको आरोपमा पक्राउ परेका अभियुक्त दिनेश भट्टलाई जिल्ला अदालत बैतडीको आदेशपछि पुर्पक्षका लागि बाल सुधार गृह डोटीमा राखिएको छ ।
बैतडी दोगडाकेदार गाउँपालिका–७ का दिनेश भागरथीसँगै सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्ने विद्यार्थी हुन् । उनले ‘रिसिबी’ का कारण भागरथीको बलात्कार र हत्या गरेको भनी प्रहरी समक्ष बयान दिएका थिए ।