ब्रसेल्स/जेनेभा — कोरोना भाइरसविरुद्धको खोप मागअनुसार उपलब्ध गराउन नसकेको भन्ने विवाद बढिरहेका बेला युरोपेली संघले युरोपमा बनेको कोरोना भाइरसविरुद्धको खोप निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
बेल्जियमको सेनेफस्थित खोप निर्माण कम्पनी नोभासेप औषधि कारखाना । कम्पनीले कोरोना भाइरसविरुद्धको अस्ट्राजेनेका खोप उत्पादन गर्दै आएको छ ।
ईयू राष्ट्रहरूसँग गरेको सम्झौताअनुरूप काम नभएमा अन्य मुलुकमा निर्यात गर्न प्रतिबन्ध लगाउन सक्ने युरोपेली संघसँग अधिकार छ । ‘हाम्रा नागरिकको सुरक्षा र संरक्षण हाम्रो पहिलो प्राथमिकता हो । अहिलेको चुनौतीका कारण हामीले अन्य विकल्पबारे सोच्न सकेनौं,’ संघले भनेको छ ।
उक्त प्रतिबन्धले यूके, अमेरिका, क्यानाडा र अस्ट्रेलियासहित करिब एक सय देश प्रभावित हुने बीबीसीले उल्लेख गरको छ । ईयूले तत्कालका लागि यस्तो निर्णय लिन आफू बाध्य भएको जनाउँदै स्थायी निर्यात प्रतिबन्ध नलगाइएको बताएको छ ।
तर गरिबलगायत केही देश भने प्रतिबन्धमा परेका छैनन् । तीमध्ये गरिब मुलुकका लागि विश्वव्यापी खोप सहयोग योजना, स्विट्जरल्यान्ड, पश्चिमी बाल्कन मुलुकहरू, नर्वे र उत्तर अफ्रिका छन् । त्यसैगरी अन्य भूमध्यसागरीय देशहरू लेबनान र इजरायलमाथि पनि प्रतिबन्ध लगाइएको छैन ।
ईयूकी स्वास्थ्य आयुक्त स्टेला किरियाकियसले प्रेस सम्मेलनमा बोल्दै ईयूका सबै नागरिकको खोपमा पहुँच निश्चित गर्न तत्कालका लागि निर्यात प्रतिबन्ध लगाउनुपरेको बताइन् । उनले त्यसका लागि सबैले आवश्यक भूमिका निर्वाह गर्नुपर्ने जनाउँदै भनिन्, ‘यो अवधारणा विश्वास, पारदर्शिता र जिम्मेवारीमा आधारित छ ।’
खोप किन्न गरिएका अग्रिम सम्झौताहरूको पूर्णरूपमा सम्मान गरिनुपर्ने उनको भनाइ छ । ‘हामीले ईयूबाट अन्य देशमा खोप निर्यात भए/नभएको थाहा पाउने प्रणाली विकास गरेका छौं,’ उनले भनिन् । यसै साताको सुरुमा ईयूले खोप निर्यातमा प्रतिबन्ध हुन सक्ने संकेत गरेको थियो । उत्पादनका विषयमा खोप उत्पादक अस्ट्राजेनेकाबीच विवाद उत्पन्न भएको समाचार सार्वजनिक भएसँगै ईयूले खोप वितरण नियन्त्रण गर्ने जनाएको हो । त्यसका साथै खोप वितरणको गति निकै सुस्त भएको भन्दै संघमाथि दबाब बढेको छ ।
यसअघि युरोपेली आयोगले अस्ट्राजेनेकाले आफूहरूसँगको सम्झौतामा आधारित रहेर खोप वितरण गर्न नसकेको जनाएको थियो । त्यसको पुष्टि गर्न ईयूले उक्त कम्पनीसँग भएको गोप्य सम्झौता नै सार्वजनिक गरेको थियो । नयाँ नियमअनुसार खोप उत्पादकहरूले ईयूभन्दा बाहिर खोप वितरण गर्नका लागि ऊसँग अनुमति लिनुपर्नेछ ।
२७ सदस्य राष्ट्र भएको संघले त्यस्ता आवेदनको परीक्षण गर्न पाउनेछ । फाइजरले बेल्जियममा उत्पादन गरिरहेको खोप यूकेमा निर्यात भइरहेको छ । अर्को कम्पनी फाइजरले पनि सम्झौताअनुसार खोप आपूर्ति गर्न नसकेको ईयूको भनाइ छ । फाइजरले भने बेल्जियमस्थित आफ्नो उत्पादन केन्द्रमा विस्तार गरिरहेकाले तत्काल समस्या देखिएको जनाएको छ । त्यसैगरी बेल्जियममै रहेको कारखानामा कम उत्पादन भएकाले पनि मागबमोजिम खोप उपलब्ध गराउन नसकेको अस्ट्राजेनेकाका प्रमुखले जनाएका थिए ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले ईयूको कदमको आलोचना गर्दै त्यसको असर संसारभर पर्ने बताएको छ । उसका अनुसार यस्तो निर्णयले भाइरसको महामारी थप लम्बिने डब्लूएचओको दाबी छ । डब्लूएचओका उपप्रमुख मारिएन्जेला सिमाओले ईयूको निर्णय ‘निकै चिन्ताजनक प्रवृत्ति’ भएको बताएकी छन् ।
यसअघि डब्लूएचओ प्रमुख डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयेससले खोप वितरणमा भएको असमानताले महामारी थप फैलने र विश्वव्यापी आर्थिक सुधारमा ढिलाइ हुने जनाएका थिए । खोप निर्यातमाथि ईयूको नियन्त्रणले ब्रिटिस खोप वितरण मुख्य रूपमा प्रभावित हुने देखिएको छ । फाइजरले बेल्जियममा बनेको खोप हाल यूकेका लागि पठाउँदै आएको छ । भविष्यमा फाइजरले खोप यूके पठाउन फाराम भर्नुपर्ने र निर्यात अनुमति पाए/नपाएको थाहा पाउन ४८ घण्टासम्म कुर्नुपर्ने हुन सक्छ ।
यसैबीच, जोन्सन एन्ड जोन्सनको खोप उत्पादक कम्पनी जानसेनले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपको पहिलो डोज ६६ प्रतिशत प्रभावकारी देखिएको छ । अन्तर्राष्ट्रियस्तरमा गरिएको परीक्षणमा सहभागी कुनै पनि व्यक्ति बिरामी नपरेका र कुनै असर पनि नदेखिएको कम्पनीले जनाएको छ । तर उक्त खोप दक्षिण अफ्रिकामा देखिएको कोरोनाको नयाँ प्रजातिविरुद्ध भने कम प्रभावकारी रहेको संकेत मिलेको बीबीसीले जनाएको छ ।साभार: कान्तिपुर