नवलपुरको हुप्सेकोटका एक जना मृगौला रोगबाट पिडित किशोरलाई नगद सहयोग जुटेको छ । बेलुवाका १९ बर्षका चिन्तामणी महत्तोको उपचार खर्चका लागि बिदेशमा बस्दै आएका नेपालीले सहयोग रकम जुटाएका हुन् ।
लण्डनमा बस्ने नेपालीहरुले जुटाएर पठाएको रकम गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डे मार्फत् बिरामी र उनको परिवारलाई हस्तान्तरण भएको छ ।
एनआरएन युकेका सदस्य एवं नवलपुर जिल्ला समाज युकेका संयोजक प्रकाश कंडेलको अगुवाईमा संकलन भएको ३ लाख ७७ हजार रुपैंया कंडेलका पिता हेमराज कंडेल मार्फत गाउँपालिका अध्यक्ष समेतले संयुक्त रुपमा प्रदान गरेका थिए ।
यसैबीचमा, स्थानीयले जुटाएको ७ हजार रुपैंया हस्तान्तरण गरियो भने गाउँपालिकाका तर्फबाट उपचारका लागि सहयोगार्थ १० हजार रुपैंया प्रदान गर्ने र उपचारका लागि स्थानीय सरकारले गर्न सक्ने प्रक्रियागत सिफारीसका सहजीकरण गर्ने अध्यक्ष पाण्डेले प्रतिवद्धता जनाएकी छन् ।
महत्तो २ बर्ष अगाडिदेखि मृगौला सम्वन्धी रोगबाट पिडित छन् । उनको पुरानो मेडिकल कलेज चितवनमा उपचार भईरहेको छ । आर्थिक अभावका कारण उपचार प्रभावित नहोस् भनेर जनप्रतिनिधि समेतले सहयोगका लागि अपिल गरेका छन् ।