पर्वत: पर्वत महाशिला गाउँपालिकाका सबै वडामा व्यक्तिगत घटना दर्ता कार्य अनलाइन प्रणालीबाट शुरु भएको छ । गाउँपालिकाले ६ वटै वडा कार्यालयबाट सोमबारदेखि अनलाइन प्रणालीबाट घटना दर्ता गर्न शुरु गरेको हो ।
दर्ता कार्यमा संलग्न जनशक्तिलाई आवश्यक तालीम र दर्ता कार्यको शुरुवातका लागि आवश्यक कप्युटर, प्रिन्टर, इन्टरनेटलगायत सामग्री उपलब्ध गराएपछि सेवा शुरु भएको पालिकाले जनाएको छ ।
व्यक्तिगत घटना दर्ता अनलाइन प्रणालीबाट शुरु भएपछि पारदर्शीता र सुशासनका साथै अभिलेख व्यवस्थित हुने भएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँले सूचना प्रविधिसँग जोडिदै यसलाई अझै प्रभावकारी र व्यवस्थित बनाउन लागिपर्नेे बताउनुभयो ।