उर्मिला यादव, नवलपरासी । जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले भदौ १० गते राति १२ बजे सम्मको लागि पुनः ५ दिन निषेधाज्ञा थप गरेको छ । पछिल्लो समय जिल्लाको विभिन्न स्थानमा कोरोना भाइरसको संक्रमण फैलिने क्रम बढ्दो अवस्थामा रहेकोले निषेधाज्ञा थप गरिएको हो ।
आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले आज राति १२ बजेदेखि भदौ १० गते राति १२ बजेसम्मको लागि पुनः निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए ।
बैठकले जिल्ला भित्र सञ्चालित बैंक, वित्तिय संस्था एवम् सहकारीहरुले अधिकतम् रुपमा विद्युतिय माध्यमबाट सेवा दिन जोड दिएको छ भने मानिसहरुको भौतिक उपस्थितीमा दिइने सेवा भदौ १० गतेसम्म स्थगन गरीएको जनाएको छ । त्यस्तै अत्यावश्यक अवस्थालाई दृष्टिगत गरी सम्पर्क व्यक्ति तोकी दैनिक जीवनमा कठिनाइ भएमा सेवा दिने व्यवस्था सम्बन्धित संस्थाको प्रमुखले मिलाउने समेत निर्णय गरेको छ ।
थप गरिएको निषेधाज्ञा अवधिमा मानिसहरुको जमघट, भेटघाट, कुनै प्रकारका बैठक, भेला जस्ता सामुहिक जमघट हुने कार्यहरु गर्न रोक लगाइएको छ ।