वाणिज्य बैंकहरुले तिहार बिदामा आफ्ना शाखाहरु नखोल्ने भएका छन् ।
अघिल्ला वर्षका दशैं र तिहारको बिदामा समेत सीमित शाखामार्फत् सेवा प्रवाह गर्दै आएका वाणिज्य बैंकहरुले यस वर्ष कोभिड १९ का कारण संक्रमणको जोखिम दिनप्रति दिन बढि रहेको भन्दै तिहार विदामा बैंक नखोल्ने निर्णय गरेको वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले बताए ।
उनले कात्तिक २९ देखि मंसिर १ गतेसम्म गरी तीन दिन बैंकका कुनै पनि शाखाहरु नखोल्ने जानकारी दिए । ‘हालसम्म वाणिज्य बैंकका ६ हजारभन्दा धेरै कर्मचारीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ र थप कर्मचारीहरुमामा संक्रमण देखिने सम्भावना र धेरै कारोबार नहुने अनुमान गर्दै बन्द गर्ने निर्णय गरेका हौं,’ उनले भने ।
कात्तिक २९ देखि मंसिर १ गतेसम्म शाखा कार्यालयहरु बन्द भए पनि संघले यस अवधिमा बैंकिङ कारोबार गर्नुपरे डिजिटल कारोबार गर्न अनुरोध गर्दै डिजिटल सेवाहरु भने सधैं खुला हुने संघले जनाएको छ ।