निजी उद्योगी व्यवसायीको साझा संस्था नेपाल उद्योग वाणिज्य महासंघका लागि उम्मेदवारहरू देश दौडामा लागेको छन् । चुनावी मिति नजिकिएसँगै उनीहरू अहिले देशव्यापी रुपमा आफ्नो टिमलाई विजय गराउन देशव्यापी रुपमा कार्यक्रम गर्दै हिडेका हुन् । कोरोनाका कारणले कार्यक्रम र भेटघाट गर्न त्यति सहज नभएपनि देशभरीमा उद्यमी व्यवसायीहरू आफ्नो प्यानललाई विजय गराउन लागि परेका छन् ।
महासंघ नेतृत्वमा आकर्षक मानिने वरिष्ठ उपाध्यक्षको पदका लागि बैंकस तथा उद्यमी चन्द्रप्रसाद ढकाल र अर्का उद्यमी किशोर प्रधान भिडेका छन् । उनीहरू आफ्नो प्यानलसहित जिल्ला जिल्लामा पुगेका छन् । आफ्नो पक्षमा मत सुरक्षित गर्न ढकाल प्यानल पश्चिम क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको छ भने प्रधान प्यानलले पूर्व क्षेत्रलाई प्राथमिकतामा राखेर आफ्नो चुनावी कार्यक्रम अघि बढाएको छ ।
चैत अन्त्यमै सकिनु पर्ने साधारणसभा र नयाँ नेतृत्व चयन कोभिडका कारण मंसिर ११ र १२ गते पुगेको छ । महासंघको चुनावमा प्रतिष्ठित मानिने वरिष्ठ उपाध्यक्ष पदका लागि ढकाल र प्रधान प्यानलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ भने अन्य उपाध्यक्ष पनि आफ्नो प्यानललाई विजय गराउन महासंघको विभिन्न सञ्जालमा पुगेका छन् ।
यी दुई प्यानलबीच हुने प्रतिस्पर्धामा कस्तो पल्ला भारी हुन्छ त्यसको परिणाम भने आउने नै छ । यद्यपी बजारमा जमेका तथा व्यवसायीक यात्रामा सफल कमाएका ढकाल र महासंघमा करिब तीन दशकदेखि होमिएर अनुभव हासिल गरेका प्रधानबीच हुने यो प्रतिस्पर्धा अर्को कार्यकालको अध्यक्ष चयन लागि हो ।
त्यसैले पनि पछिल्लो पटक विधान संशोधनयता महासंघको चुनावमा वरिष्ठ उपाध्यक्षको पद बढी महत्व मानिन्छ । महासंघको विधानमा अघिल्लो कार्यकालमा वरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालको लागि स्वत अध्यक्ष बन्ने प्रावधान छ । मंसिरको दोस्रो साता हुने चुनावी प्यानलमा हालका वरिष्ठ उपाध्यक्ष तथा आगामी कार्यकालका अध्यक्ष उद्यमी शेयर गोल्छाको प्रधान प्यानललाई समर्थन छ भने आम उद्यमीको समर्थन ढकालले बटुलेका छन् । त्यसैले पनि अघिल्ला वर्षहरूमाभन्दा यो वर्ष कोरोना महामारीकै बीच यो चुनाव बढी प्रतिस्पर्धी र रोमान्चक पनि हुने देखिएको छ । अहिले दुबै प्यानल आ–आफ्नो क्षमता प्रदर्शन गर्न लागि परेका छन् ।
ढकाल प्यानलबाट वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा गुणनिधि तिवारी र एसोसिएट उपाध्यक्षमा रामचन्द्र संघईले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै प्रधानको समूहबाट वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा सौरभ ज्योति मैदानमा उत्रिएका छन् ।
प्रधान समूहकै एसोसिएटतर्फको कार्यकारिणी सदस्यमा विजयसिंह वैद्य, रञ्जित आचार्य, कृष्ण दुलाल, राजेश अग्रवाल, साहिल अग्रवाल, आनन्द बगारिया रहेका छन् । त्यस्तै मंगेशलाल श्रेष्ठ, अशोक टिमानी, सुनिलनारायण श्रेष्ठ, ज्योत्सना श्रेष्ठ, प्रबलजंग पाण्डे, सन्दीप गाडिया, हेमन्त गोल्छा, शक्ति बेगानी र उदीप श्रेष्ठले प्रधान प्यानलबाट कार्यकारी सदस्यका लागि उम्मेदवारी दिएका छन् ।
प्रधान प्यानलको वस्तुगत तर्फको कार्यकारिणी सदस्यमा अरनिको राजभण्डारी,अशोक शर्मा, विप्लवमान सिंह, विष्णु गैह्रे, दीपक दाहाल, गोविन्द ढुंगेल, माधवलाल श्रेष्ठ, महेशलाल प्रधान, मीनमान श्रेष्ठ, रामबहादुर श्रेष्ठ, शकुन्तलाल हिराचन, सन्दीप अग्रवाल, शारदा रिजाल, शिवप्रसाद घिमिरे र सुनिल गोपाल श्रेष्ठ रहेका छन् ।
ढकाल समूहको वस्तुगततर्फको कार्यकारिणी सदस्यमा हेमराज ढकाल, कमला श्रेष्ठ, आकाश अधिकारी, जय सिवाकोटी, सुवास भण्डारी, प्रकाशसिंह कार्की, भक्त हमाल, सुबोधकुमार गुप्ता, सुमित केडिया, रविनकुमार श्रेष्ठ, नरेशलाल श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।
ढकाल प्यानलको एसोसिएट तर्फको कार्यकारिणी सदस्यमा भरत आचार्य, गोपाल खनाल, रामशरण थपलिया,अम्बिकाप्रसाद पौडेल, अजित बस्नेत, विनोद ढकाल, सुशील थापा, बाबुकाजी कार्की, कृष्णलाल महर्जन, विराट थापा, सञ्जय गिरी, अविनाश बोहरा र रामकृष्ण प्रसाईँ रहेका छन् ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९कारण सरकारले तोकेको स्वास्थ्य मापदण्डलाई दृष्टिगत गर्दै भिन्दा भिन्दै ठाउँमा निर्वाचनका कार्यक्रम तय गरिएको महासंघले जनाएको छ । दुई दिन हुने साधारण सभामा ११ गते महासंघको ५४ औं साधारणसभाको समुद्घाटन हुनेछ भने १२ गते निर्वाचन हुने सूचनामा उल्लेख गरिएको छ ।
उद्घाटन कार्यक्रम मंसिर ११ गते अपरान्ह ४ बजेदेखि अनलाइनबाट शुरू हुने उनले बताए । उद्घाटन कार्यक्रम भर्चुअल अनलाइनबाट हुने भएको छ । १२ गते बन्द सत्र हुने र १३ गते निर्वाचन हुने महासंघले जनाएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, कार्की ब्याङ्केट बबरमहल र महासंघ कार्यालय टेकुमा निर्वाचनका कार्यक्रम हुने महासंघले प्रकाशित गरेको सूचनामा उल्लेख गरेको गरिएको छ ।
महासंघमा ११ सदस्यहरु छन् । महासंघका केन्द्रीय कार्यसमितिको निर्वाचनम भाग लिन ४५० जना प्रतिनिधि काठमाडौं आउने तयारी गरिरहेका छन् । महासंघको निर्वाचनका लागि वस्तुगत संघबाट १०१ जना भोटर रहेका छन भने जिल्ला प्रतिनिधिहरु १०६ जना भोटर रहेका छन् । सबैभन्दा बढी भोटर एसोसिएट्स तर्फ रहेका छन् । करिब २५० को हाराहारीमा एसोसिएट्स तर्फबाट भोटर रहेका छन् ।