नवलपुर,कात्तिक १९ ।
नेपाल जेसीजको वर्ष २०२१ को राष्ट्रिय अध्यक्षसहित चार प्रमुख पदमा नवलपरासीपूर्वबाट चार जनाको उम्मेदवारी परेको छ । आगामी पुस १ गतेदेखि ४ गतेसम्म रुपन्देहीको तिलोत्तमामा नेपाल जेसीजको राष्ट्रिय महाधिवेशन हुदैछ ।
महाधिवेशनमा एक जना अध्यक्ष, चार जना कार्यकारिणी उपाध्यक्ष र १२ जना उपाध्यक्ष गरी १७ पदमा एक वर्षे कार्यकालका लगि निर्वाचन हुनेछ । जेसीजको १७ पदका लागि नवलपरासीपूर्वका चार जनासहित ६७ जनाको उम्मेदवारी परेको छ । राष्ट्रिय अध्यक्षमा नवलपरासीपूर्व गैंडाकोटका गोकुल सापकोटाले उम्मेदवारी दर्ता गराउनु भएको छ । सापकोटा यसअघि गैडाकोट जेसीजका पूर्व अध्यक्ष हुनुहुन्थ्यो भने नेपाल जेसीज वर्ष २०२० का राष्ट्रिय कार्यकारिणी उपाध्यक्षसमेत हुनुहुन्छ ।
सापकोटासहित राष्ट्रिय अध्यक्षका लागि ७ जनाको उम्मेदवारी परेको छ । वर्ष २०२१ को राष्ट्रिय कार्यकारिणी उपाध्यक्षका लागि नवलपुर जेसीजका पूर्व अध्यक्ष कावासोती निवासी कृष्णप्रसाद अर्यालसहित १७ जनाको उम्मेदवारी परेको छ । अर्याल नेपाल जेसीज वर्ष २०१९ का राष्ट्रिय उपाध्यक्ष समेत हुनुुहुन्थ्यो । यसैगरी जेसीजको राष्ट्रिय उपाध्यक्षमा नवलपरासीपूर्व देवचुली जेसिजका संस्थापक अध्यक्ष खड्गबहादुर राना र रजहर जेसिजका वर्तमान अध्यक्ष राजन गौतमसहित ४३ जनाको उम्मेदवारी दर्ता भएको छ ।
महासचिव, कोषाध्यक्ष र कानूनी सल्लाहकार भने निर्वाचित अध्यक्षले मनोनित गर्न पाउने जेसीजको विधानमा व्यवस्था रहेको छ । एक हजार सात सय जना मतदाता रहेको जेसीज महाधिवेशनमा देशभरका १५६ वटा शाखाका अध्यक्ष, बोर्ड डाइरेक्टर, पूर्वअध्यक्षहरु, उम्मेदवारलगायत तीन सय जनादेखि चार सय जनासम्मको उपस्थिति रहनेछ ।