कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि जिल्ला कारागार दाङले कैदीबन्दीलाई आफन्तबाट दसैंको टीका लगाउन रोक लगाएको छ ।
कोरोनाको जोखिम बढेकाले यस वर्षको दसैंमा कैदीबन्दीलाई आफन्तबाट टीका लगाउन वञ्चित गरिएको हो । बाहिरबाट अन्य मानिस जाँदा जोखिम हुने भएकाले यस वर्षको दसैंमा कैदीबन्दीलाई आफन्तबाट टीका लगाउन रोक लगाइएको कारागार प्रमुख विष्णु प्रसाद पाण्डेले जानकारी दिए ।
कारागारका कैदीबन्दीले आ-आफैं टीका लगाएर दसैं मनाउने तयारी गरेका छन् । “कोरोनाका कारण यस वर्ष आफन्तलाई पनि कारागारभित्र प्रवेश दिन सक्ने अवस्था रहेन, कैदीबन्दीले आ–आफैं टीका लगाई, शुभकामना आदानप्रदान गरी दसैं मनाउने तयारी गरेका छन्”, उनले भने ।
कैदीबन्दीले दसैं मनाउनका लागि आवश्यक पर्ने खसीबोका खरिद गर्न भनेर कोष बनाएका छन् । कोषमा सबै कैदीबन्दीले रकम जम्मा गरेका छन् । सोही कोषमा जम्मा गरिएको रकमले खसी, कुखुरालगायत खरिद गर्ने तयारी छ । “सरकारले दसैं खर्चबापत प्रत्येक कैदीबन्दीलाई रु तीन सयका दरले रकम उपलब्ध गराउँछ, सोही रकम र मुढा बिक्री गरेर कमाएको पैसा कैदीबन्दीले कोषमा राखेका छन्”, प्रमुख अधिकारीले भने ।
केही कैदीबन्दीले दसैंको पूर्वसन्ध्यामा मुढा बिक्री भएको रकम परिवारलाई पठाएका छन् । “मुढा बिक्री गरेर प्रत्येक वर्ष कैदीबन्दीले दसैंको बेला परिवारमा पठाउने गर्छन्, अहिले पनि केहीले रकम पठाएका छन्”, उनले भने ।
आजसम्म कारागारमा ११९ कैदीबन्दी र १५० थुनुवा छन् । कोरोनाको जोखिम बढेदेखि नै कारागारमा उच्च सतर्कता अपनाइएको छ । गत चैतदेखि नै कैदीबन्दी भेटघाट पूर्ण रुपमा बन्द छ । जिल्ला कारागारमा भवनको क्षमता ७० जनाको हो । तर उक्त भवनमा क्षमताभन्दा बढी कैदी भएता पनि व्यवस्थापन गरिएको छ ।