मोरङको बेलबारीबाट प्रहरीले साढे दुई लाख नगदसहित ६ जना जुवाडेलाई शुक्रबार साँझ पक्राउ गरेको छ । बेलबारी नगरपालिका- ४ गर्जुराम टोल बस्ने अशोक राईको घरमा जुवा खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले कौडा, तास, नगद र सवारी साधनसहित ६ जना जुवाडेलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बेलबारी- ३ मैनावारी बस्ने ४० वर्षीय रित गुरुङ, बेलबारी- ११ लक्ष्मीमार्ग बस्ने ५६ वर्षीय सुजय गौतम, लक्ष्मीमार्गकै ५२ वर्षीय चन्द्र लिम्बू, झापाको दमक- ५ मन्टेश्वरी टोल बस्ने ३२ वर्षीय धमेन्द्र राई, सुनसरीको ईटहरी- १ हलगडा बस्ने ४७ वर्षीय प्रदीप तामाङ र धनुषाको चारनाथ गणेशमान ८ पोर्ताहा बस्ने ५० वर्षीय पर्शुराम भुजेल छन् । उनीहरूलाई एक सेट कौडा, तीन बुक तास, नगद २ लाख ५३ हजार ,२३५ रुपैयाँ, को २ च २८१९ नम्बरको स्कापियो, एक थान मोटरसाईकल, को.२३ प १३८७ नम्बरको स्कुटीसहित पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए । पक्राउ परेकामाथि जुवा ऐनअन्तर्गत कारबाही गरिने प्रहरीले जनाएको छ ।
साढे दुई लाख नगदसहित ६ जुवाडे पक्राउ