विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले केही मिनेटभित्रै कोभिड १९ पत्ता लगाउने एउटा परीक्षण विश्वका एक सय ३३ देशमा पुर्याउने भएको छ।
यसले न्यून र मध्यम आय भएका मुलुकमा कोरोनाभाइरस पत्ता लगाउने कार्यक्षमतालाई उच्च रूपमा विस्तार गर्ने डब्लुएचओले जनाएको छ। स्वास्थ्यकर्मी र प्रयोगशाला कम भएका अल्पविकसित मुलुकमा कोभिड १९ पत्ता लगाउने प्रक्रियामा पाँच डलर मात्र लागत पर्ने उक्त परीक्षण प्रविधिले सकारात्मक परिवर्तन ल्याउने ठानिएको छ।
सोमवार पत्रकार सम्मेलनमा बोल्दै डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले भने, ‘नयाँ, सजिलै बोकेर हिँड्न सकिने र प्रयोग गर्न सजिलो परीक्षणले कैयौँ घण्टा वा दिनको साटो १५ देखि ३० मिनेटभित्र नतिजा दिन्छ।’
औषधि निर्माताहरू एब्बो र एसडी बायोसेन्सरले च्यारिटेबल संस्था बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनका लागि १२ करोड परीक्षणहरू उत्पादन गर्न सहमत बनेको उनले बताए ।
बिबीसी