खगेन्द्र पराजुली, नवलपुर । पाँच दिनदेखि अवरुद्ध नवलपुरको ग्रामीण सडक अझै पूर्ण रुपमा खुलेको छैन । तराई, भित्री–मधेश र पहाडी तीनतले जिल्लाका रुपमा समेत परिचित नवलपुरको मुख्य बाटो मुण्डे–धौवादीखण्ड पहिरोका कारण अवरुद्ध भएको पाँच दिनसम्म पनि सरोकारवाला निकायको ध्यान नपुग्दा स्थानीयले सास्ती बेहोर्नुपरेको छ ।नवलपुरको सदरमुकाम कावासोती नगरपालिका र मुख्य–सडक सञ्जालसँग जोडिएको देबचुली नगरपालिका तथा पहाडी गाउँपालिका बुलिङटार र हुप्सेकोट गरी चार वटा पालिकाको संगममा रहेको पाङ्ग्रे नजिकै ठूलीखोल्सामा पहिरो खस्दा माल–सामान ढुवानी गर्ने साधन दुबैतर्फ रोकिएका छन् ।तीन दिनसम्म दुई पाङ्ग्रे साधन तथा पैदलै पनि पहिरोस्थल छिचोल्न नसकिने अवस्था भएकाले बिरामीलाई अस्पताल पुर्याउन नसकिएको स्थानीयले बताएका छन् । पहिरो पन्छाउन प्रशासनलाई बुधबारदेखि जानकारी गराइएको तर अलिहेसम्म कुनै पनि पहल नभएको देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष रेशम सापकोटाले बताउनुभयो ।प्रशासन र सडक कार्यालय समेतले पूर्ण रुपमा अवरुद्ध बनेको बाटो खुलाउन कुनै पहल नगरेपछि गाउँलेहरु खटेर पैदल र मोटरसाइकलसम्म वारपार गर्न मिल्ने गरी पहिरो पन्छाएका छन् । सडक माथिबाट खसेको पहिरो हटाउन पहल नहुँदा नवलपुरका बुलिङटार, बौदीकाली र हुप्सेकोट गरी तीन वटा पहाडी गाउँपालिकामा असुविधा भएको छ ।यस बाटोलाई गण्डकी प्रदेश सरकारले लाईफलाईनको रुपमा लिएको छ । तर स्तरोन्नति तथा मर्मत–संभारमा ध्यान नपुग्दा वर्षेनी वर्षायाममा आउने बाढी–पहिरोले बाटो प्रभावित भइरहने गर्दछ ।
सरोकारवालाले चासो नदिएपछि स्थानीयले पन्छाए पहिराे