दुलेगौंडा,तनहु । तनहुँको शुक्लागण्डकी–५ बेलचौतारास्थि ज्ञान बगैचा इङ्लीस बोर्डिङ स्कुलमा आयोजित इमोस्नल एजुकेशन प्रोगाम (भावनात्मक शिक्षा कार्यक्रम) को गहन सिकाई यात्रामा सहभागि विद्यार्थीलाई दिक्षित गरिएको छ । द स्कुल अफ नन भायोलेन्स नेपालको आयोजनामा भएको १२ हप्ते कार्यक्रममा कक्षा ७ देखि ९ सम्मका ४५ जना विद्यार्थीलाई दिक्षित गरिएको हो ।
आइतवार विद्यालय परिसरमा आयोजित कार्यक्रममा क्रोधरहित संसारका प्रमुख कार्यकारी अधिकृत डा. अनुप श्रेष्ठाचार्य, विद्यालयका प्रिन्सीपल सुरेश पौडेल, द स्कुल अफ नन भायोलेन्सका संस्थापक एवम् सहजकर्ता राजन उपाध्यायले दिक्षित गरेका हुन् । सो अवधिमा विद्यार्थीलाई स्वःजागरण, स्वःसम्बन्ध, स्वःनियमन, उत्प्रेरणा, नैतिक मुल्य मान्यता, सकरात्मक सोच, प्रशंसनीय खोज, भावनात्मक साक्षरता, अहिंसात्मक सञ्चार, तनाव व्यवस्थापन, मानसिक स्वास्थ्य र स्वःहेरचाह, रिस रुपान्तरण लगायतका विषयमा केन्द्रित रहि विद्यालयकी कार्यक्रम संयोजक सगुन थापाले सहजिकरण गरेकी थिइन् ।
यस अघि द स्कुल अफ नन भायोलेन्स नेपालले विद्यालयका शिक्षक शिक्षिकाहरुलाई प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरेको थियो । सो अवसरमा बोल्दै द स्कुल अफ नन भायोलेन्स नेपालका संस्थापक एवम् अहिसांत्मक सञ्चार नेपालका प्रशिक्षक श्रीराम तिमिल्सीनाले देशभरका ४५ मध्य ज्ञान बगैचा तनहुँको प्रतिनिधित्व गर्दै पहिलो विद्यालय भएको बताए ।
विज्ञान र प्रविधिका कारण साँगुरिदै गएको विश्वमा मानिसहरुबीच भावनात्मक सम्बन्धको खडेरी परिररहेका बेला यस्ता कार्यक्रम विद्यार्थीमार्फत समुदायसम्म पु¥याउनुपर्नेमा जोड दिए । प्रिन्सीपल सुरेश पौडेल र भाइस प्रिन्सीपल विनोद पौडेलले कोभिड अघिदेखिनै विद्यालयमा सञ्चालित अहिसांत्मक सञ्चार कार्यक्रमले शिक्षक र विद्यार्थीबीच सुमुधुर सम्बन्ध स्थापित गर्न सहयोग पुगेको बताए ।
अहिसांत्मक सञ्चार नेपालका अर्का संस्थापक राजन उपाध्यायले यस्ता कार्यक्रम हरेक विद्यालयमा सानै उमेरका विद्यार्थीलाई पु¥याउन सके भविष्यमा हुने सक्ने मानसिक विचलन र द्धन्द्ध न्यूनिकरण हुने विश्वास व्यक्त गरे । शिक्षिका एवम् कार्यक्रम संयोजक सगुन थापाले १२ हप्ते सिकाई यात्रा अतिनै उपायोगी रहेको बताउदै जीवन उपयोग गर्न आग्रह गरिन् ।
छात्र सक्षम गुरुङ र छात्रा प्रेरणा केसीले सञ्चालन गरेको कार्यक्रममा अदित ज्वारचन र शरिना भट्टराईले सिकाई अनुभव सुनाएका थिए भने सुगारिका श्रेष्ठ र आयुष्मा बरालले शान्ति शिर्षकमा कविता सुनाएका थिए । १२ हप्ते सो सिकाई यात्रामा कक्षा ७ देखि ९ सम्मका विद्यार्थी छनौट गरि समावेश गरिएको विद्यालयले जनाएको छ ।