कास्की, बैशाख ०२
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । विपक्षी दलहरूले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि प्रदेश सरकारले मध्यरातमा प्रदेशसभा अधिवेशन अन्त्य गरेको थियो । अधिवेशन अन्त्यका बबजुद नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन् । प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेललाई प्रस्ताव गरिएको छ ।अविश्वासको प्रस्तावमा कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका छन् । तीन प्रदेशसभा सदस्य भएको राष्ट्रिय जनमोर्चाले प्रस्तावको पक्षमा मतदान गर्ने कांग्रेस प्रदेशसभा सदस्य कुमार खड्काले बताए ।
माओवादी केन्द्रको समर्थन फिर्ता
अविश्वासको प्रस्ताव दर्ता गर्नुअघि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । प्रदेश सरकारमा रहेका माओवादी केन्द्रका दुई मन्त्रीले २५ चैतमा राजीनामा दिएपनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको थिएन । तर नेपाली कांग्रेससहितका दलहरुसँग मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने सहमति जुटेसँगै माओवादी संसदीय दलको नेता हरिबहादुर चुमानले समर्थन फिर्ता लिएको पत्र प्रदेशसभा सचिवालयमा दर्ता गराएका थिए ।