देवचुली, एलिना केसी
पुर्वी नवलपुरको देवचुली नगरपालिका वडा नं ९ मा अति विपन्न परिवारका सुनौलो हजार दिनका आमाहरुलाई पोषणयुक्त खाद्यन्न वितरण गरिएको छ । मंगलबार वडा कार्यालयमा संघीय सरकारको २०७७/०७८ को ५० हजार बजेटबाट सुनौलो हजार दिनका आमाहरुलाई खाद्यन्न वितरण गरिएको हो । देवचुली वडा नं ९ मा रहेका करिब २५ जना सुनौलो हजार दिनका आमाहरुलाई २ हजार नगद, १५ सय बराबरको ५ वटा कुखुरा, कुखुरालाई खान दिने भाडा र पानी पिउने भाडा वितरण गरिएको देवचुली वडा नं ९ का वडाध्यक्ष मेख बहादुर सारुले जानकारी दिनुभयो । उहाँले बिशेष गरि वडा भित्र अति विपन्न परिवारका बच्चाहरुमा देखिन सक्ने कुपोषणलाई मध्यनजर गर्दै बच्चा र आमाको स्वास्थ्य स्थितीमा सुधार ल्याउनका लागि नगद र खाद्यन्न सामाग्री वितरण गरिएको बताउनुभयो ।
कार्यक्रममा देवचुली नगरपालिका पोषण स्वयंम सेवक विद्या पौडेलले नवजात शिशु र जन्म दिने आमालाई उचित पोषणयुक्त खानेकुराको अभावमा कुपोषित र शरीरमा रक्त अल्पता हुने सम्भावना हुन सक्ने हुँदा पोषणयुक्त खानेकुरा खानुपर्नेमा सम्पूर्ण आमाहरुलाई सुझाव दिनुभएको थियो । कार्यक्रममा देवचुली वडा नं ९ का वडाध्यक्ष मेख बहादुर सारुको अध्यक्षता रहेको थियो । कार्यक्रममा वडाका वडा सदस्य टेक बहादुर गाहा, रिल कुमारी तामाङ्ग, वडाबासी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण देवचुली नगरपालिका पशु शाखा अधिकृत विजय ढकालले गर्नुभएको थियो ।