डोलराज रानाभाट, गैँडाकोट । गैँडाकोटका स्वास्थ्य व्यवसायिहरु मोतिया विन्दु लागेका जेष्ठ नागरिकहरुको साहारा बनेका छन् । नगरपालिका भएपनि आँखाको सजिलै जाँच गर्न नपाएका जेष्ठ नागरिकहरुले नेपाल स्वास्थ्य व्यवसायी संघ गैँडाकोट नगर इकाइद्धारा गत चैत २१ गते आयोजित निशुल्क आँखा शिविरबाट ४७९ जनाले लाभ लिएका थिए । गैँडाकोट नगरपालिकाको समन्वय र भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न उक्त शिविरमा ७५ जनामा मोतिया विन्दुको समस्या देखिएको थियो । तीनै विरामीहरुको आज भरतपुर आँखा अस्पतालमा ५० प्रतिशत छुटको सुविधा सहित अप्रेसन गरिएको छ । अप्रेसन गर्न पुगेका जेष्ठ नागरिकहरुलाई जुस र खाजा लिएर गैँडाकोटका स्वास्थ्य व्यवसायी अस्पतालनै पुगेका थिए । ७५ मध्ये २२ जनाको भरतपुर आँखा अस्पतालमा अपरेशन भएको इकाई अध्यक्ष इश्वरी प्रसाद घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार निशुल्क पीसीआर परीक्षणको व्यवस्था देखि अस्पताल सम्म वसको सुविधा उपलब्ध गराइएको थियो ।
वायु प्रदुषण वढ्दै गएको र लामो समय नगरभित्र कुनैपनि स्वास्थ्य शिविर नहुँदा आफूहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत आँखा शिविर राखेको घिमिरेको भनाई थियो । कोरोनाका कारण धेरै कर्यक्रम गर्न नपाएपनि शिविरमा हालसम्मकै धेरै नगरवासी आएर स्वास्थ्य लाभ लिएको घिमिरेको दावी छ । विहान बस चढाएर अस्पताल पुर्याउने क्रममा केही जेष्ठ नागरिकहरुले आफू एक्लै भएको बताएपछि अस्पताल भर्ना भएका सवैलाई स्वास्थ्य व्यवसायीहरुले जुस र विस्कुट वितरण गर्दै थप स्वास्थ्य अवस्थावारे जानकारी लिएका थिए ।
अप्रेसनको समयमा समेत साथमा आएर जुस खाजा दिएर आफूहरुको ख्याल राखेको भन्दै जेष्ठ नागरिकहरुले आशिर्वाद दिएका थिए । आगामी दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिन उनीहरुको आग्रह थियो । शिविरमा निशुल्क जाँच गरिनुका साथै आवश्यक पर्नेलाई चस्मा औषधी समेत निशुल्क उपलब्ध गराइएको थियो । सोही समयमा मोतिया विन्दु देखा परेका विरामीको अप्रेसन गरिएको हो । हिजो छुट भएका तर उक्त दिन जाँच गराएका विरामीहरुले हिजोको सुविधा सहित पछि पनि सेवा लिन सक्ने गरी व्यवस्था मिलाइएको घिमिरेले जानकारी दिनुभयो । अध्यक्ष घिमिरे सहित उपाध्यक्ष नारायण घिमिरे, सचिव खुमप्रकाश पौडेल, सहसचिव बिनोद पौडेल,लेखा समिति संयोजक बिमल पौडेल अस्पतालमै पुगेर विरामीहरुको स्वास्थ्य अवस्था र जुस वितरण गर्नुभएको हो ।