काठमाडौं -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी र सरकार दुवैमा झनै शक्तिशाली हुँदै गएका छन् । ओली नेतृत्वको सरकार टिकाउन एमाले र जनता समाजवादी पार्टीबीचको सहकार्यको सम्भावना बढेको छ भने अर्कोतर्फ पार्टीभित्र विधान संशोधन गरेर सबै अधिकार आफूमा केन्द्रित गर्न ओली सफल भएका छन् । ओली नेतृत्वको सरकारले विश्वासको मत लिएमा र जसपाले समर्थन गरेमा एक वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन पाइँदैन ।
ओलीले फागुन २८ गते माधव नेपाल लगायत नेतालाई नबोलाइ केन्द्रीय कमिटीको बैठक राखेर जिम्मेवारी खोस्ने, विधान संशोधन प्रस्ताव अघि सार्ने तथा केन्द्रीय सदस्य थप गर्ने निर्णय गराएका थिए । त्यसपछि दुईवटा बैठकले विधान संशोधन नेपाल लगायत चार नेतालाई स्पष्टीकरण सोध्ने तथा संसदीय दलको विधान संशोधन गरेर समानुपातिक सांसद लाई हटाउने अधिकार अध्यक्ष लाई दिने निर्णय गरेका थिए ।नेपाल समूहले समानान्तर कमिटी गठन गरी ओली समूह लाई चुनौती दिने र अन्तर संघर्ष गर्ने नीति लिइरहेका बेला ओलीले बालुवाटारमा केन्द्रीय कमिटीको बैठक राखेर आफू अनुकूल निर्णय गराएका थिए । उनी यतिबेला नेपाल लगायतका नेताहरु लाई पार्टीबाटै निष्कासन गर्ने तयारीमा छन् ।