देवचुली,
देवचुली नगरपालिका वडा नं ११ मा रहेको बुद्धनगरमा किसान डिप बोरिङ्गको शिलान्यास गरिएको छ । शुक्रबार प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसालले उक्त डिप बोरिङ्गको शिलान्यास गर्नुभएको हो । गण्डकी प्रदेश सरकारबाट आर्थिक बर्ष २०७७/७८ मा स्विकृत २० लाख विनियोजित बजेट मार्फत बुद्धनगरमा किसान डिप बोरिङ्ग निर्माणको शिलान्यास गरिएको हो । 
देवचुली वडा नं ११ का मन बहादुर लुङ्गेलीले किसान डिप बोरिङ्ग निर्माणका लागि निःशुल्क रुपमा जग्गा प्रदान गर्नुभएको हो । बर्खाको समयमा यस क्षेत्रमा बाढी आउने नहर धेरै रहेको र स्थायी नभएकाले धेरै समय जमिन बाझो हुनेभएकाले किसानहरुको समस्यालाई समाधान गर्ने उद्धेश्यले डिप बोरिङ्ग निर्माणको थालनी गरिएको प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसालले जानकारी दिनुभयो । 
उहाँले बोरिङ्ग निर्माण पश्चात धानमात्रै नभई बेमौसमी अग्रयानिक तरकारी खेती लगायतमा जोड दिई किसान र उपभोक्तालाई कृषिमा आत्मनिर्भर बनाउने बताउनुभएको छ । असार सम्ममा डिप बोरिङ्ग निर्माण समपन्न गर्ने लक्ष राखिएको छ । 
देवचुली वडा नं ११ मा रहेका सम्पूर्ण घरपरिवारका करिब ६० विगाह जमिनमा सिँचाईका लागि र कृषिजन्य बालीको उत्पादनमा बृद्धि ल्याउन डिप बोरिङ्ग शिलान्यास गरिएको किसान डिप बोरिङ्ग उपभोक्ता समितिका अध्यक्ष दलसिंग पुलामीले जानकारी दिनुभयो ।
किसान डिप बोरिङ् ऊपभोक्ता समितिका अध्यक्ष दलसिंग पुलामीको अध्यक्षतामा सम्पन्न शिलान्यास कार्यक्रममा प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष खिमानन्द भुसालको प्रमुख आतिथ्यता रहेको थियो । यसैगरि शिलान्यास कार्यक्रममा बिशेष अतिथि वडा नं ११ का वडाध्यक्ष रमेश बहादुर ठाडा, वडा सदस्य नवराज भुसाल सहित उपभोक्ताहरुको उपस्थिती रहेको थियो ।