प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताका अब दुख र कष्टका दिन गइसकेको बताएका छन् । बिहीबार सिन्धुलीको कुुसुमटारमा सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारले विकासको लहर ल्याएको भन्दै अब नेपाली जनताका दुःख कष्टका दिन गइसकेको बताएका हुन् ।‘अब हिजोको जस्तो नेपाली जनताका दुख, कष्टका दिन गए । सरकारले बहुआयामिक उद्देश्यका आयोजनाहरु बनाउँदै गएको छ । अरु पनि ल्याउदै जानेछ’, प्रधानमन्त्री ओलीको भनाइ छ ।
उनले सरकारले अघि सारेका विकासका आयोजनाहरुलाई कोभिड १९ का कारण प्रभाव पारेपनि त्यसलाई परास्त गर्दै अव विकासको गति नरोकिने दावी गरे । सो क्रममा प्रधानमन्त्री ओलीले सुनकोशी–मरिन डाइभर्सन आयोजनका मुख्य २ वटा उदेश्य रहेपनि यो बहुआयामीक आयोजना भएको प्रस्ट पारे । उनले आयोजनाबाट बारादेखि धनुषासम्मको १ लाख ८५ विघाहा जमिन सिंचाई हुने तथा ३१ मेगावाट विद्युत उत्पादन गर्ने आयोजना सम्पन्न भएपछि २ नम्बर प्रदेशका जिल्लाहरुमा पुग्ने सिंचाइले तराई हरियाली र बगैँचाका रुपमा विकसित हुने बताए ।
फरक प्रशंगमा प्रधानमन्त्री ओलीले नेपाली जनतालाई अहिलेको राजनीतिबारे केही चिन्ता रहेपनि चिन्ता नगर्न आग्रह गरे । उनले मुलुकलाई समृद्ध बनाउन पार्टी एकता गरेपनि अहिले आएर केही समस्या भएपनि केही फरक नपर्ने बताए । ‘केही केही पिलो निचोरिएर जान्छन् । चिन्ता गर्नुपर्दैन । आन्दोलन देशलाई सम्मृद्ध बनाउनेतिर जान्छ’, ओलीको भनाइ छ । उनले मधेसमा केपी ओलीलाई पस्न नदिने भन्ने सुनेको भन्दै आफुलाई पस्न नदिएपनि पानी पसाइदिएर खेतमा सिंचाई गरिदिने दावी गरे । ‘म मुख्यमन्त्री मार्फत खवर पठाउन चाहान्छु, केपी ओलीलाई मधेसमा पस्न नदिएपनि पानी पस्न नछेक्नुहोला’, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउततर्फ हेर्दै प्रधानमन्त्रीले भने ।