नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते चालेको प्रतिनिधि सभा बिघटनको बिरुद्धको प्रदर्शनलाई देशैभरि वडा तहसम्म पुर्याएको छ । नागरीक तहसम्म प्रधानमन्त्रीको नियत स्पष्ट पार्ने भन्दै केन्द्रिय समितिको पुर्वघोषित विरोध कार्यक्रमको तालिका अनुसार वडा–वडामा पुगेको नेपाली कांग्रेसका नेता–कार्यकर्ताले बताएका छन् ।
यसैबीच, गण्डकी प्रदेशका ११ जिल्लाका सबै पालिकाका अधिकांश वडामा विरोध प्रदर्शनका साथै कोणसभा सम्पन्न गरेको छ ।
यसैबीच, कांग्रेस नवलपुरका जिल्ला सभापति एवं प्रदेश सांसद बिष्णुप्रसाद लामिछानेले संविधानले दिदै नदिएको अधिकार दुरुपयोग गरेर प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्नु भनेको निरंकुशता र तानाशाही चरित्रलाई पुष्टि गरेको जिकिर गरे । उनले चुनाव गर्ने बहानामा जनताको जनादेशलाई प्रधानमन्त्रीले निमोठ्ने मात्रै नभई संबिधान र ब्यवस्थामा समेत प्रतिकुल असर पर्न सक्ने खतरा बढेको बताएका छन् ।
तनहुँको शुक्लागण्डकी ८ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले संसद विघटनलाई संसदले सदर गरेका खण्डमा जुनसुकै बेला संसद विघटन भैरहने अवस्था आउने चेतावनी दिएका छन् ।
बहुमतमा रहँदा रहँदै जनतामा जान चुनावको मिति घोषणा गरेको प्रधानमन्त्रीले भनेको उल्लेख गर्दै उनले सर्वोच्चले संसद विघटनलाई सहि ठह¥याएमा गलत नजिर बस्ने र देशमा जुनसुकै बेला संसद विघटन हुन सक्ने खतरा औंल्याए ।
नेपाली कांग्रेस कास्की क्षेत्र २ की पुर्व प्रतिनिधि सभा सदस्य शारदा पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली मात्र नभई राष्ट्रपति विद्यादेवी भण्डारी समेत संविधान विरोधी भएको बताएकी छन् । उनले ओलीले झ्यालबाट छिरेर दिएको कागजमा आफैँले बाकिँ काम सकेर हस्ताक्षर गर्नु यो लोकतन्त्रमाथि खुल्ला रुपमा प्रहार भएको जिकिर गरे ।
यस्तै, स्याङ्जामा नेपाली काँग्रेस महासमिति सदस्य श्यामप्रसाद वस्यालले ओलीले आफ्ना भ्रष्टाचार छोप्नका लागि संसद विगठन गर्दै आफूहरु भित्रको किचलोको कारण देशमा अधिनायकबाद लागु गर्न खोजेको आरोप लगाए ।
उहाँले प्रधानमन्त्रीको अधिनाकबाद विरुद्व हरेक नागरिक लाग्नु पर्ने भन्दै जनताले आन्दोलन गरेर ल्याएको गणतन्त्र र लोकतन्त्र बचाउने अभियानमा लाग्न सबैलाई आग्रह गर्नुभयो ।
यस्तै, म्याग्दीमा आयोजित प्रदर्शन सहित कोण सभामा बोल्ने बक्ताहरुले चुनावमा जान कांग्रेस तयार भएपनि प्रतिनिधिसभा पुर्नस्थापना लोकतन्त्र र संविधानको रक्षाका लागि भएको बताएका छन्।
नेपाली कांग्रेसले वडास्तरसम्म पुगेर विरोधका कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउँदै प्रतिगमन कदम बिरुद्ध कांग्रेसले कुनै सम्झौता नगर्ने पार्टी सभापति खम्बीर गर्बुजाले बताए ।
बाग्लुङमा नेविसंघका निर्वतमान केन्द्रीय उपाध्यक्ष डिल्लीराम सुवेदीले ‘स्थायी सरकार र दिगो बिकासका लागि प्रतिपक्षसमेत चुप लागेर बसेको बेला देशलाई बर्बादीमा धकेल्नेहरुका बिरुद्ध आन्दोलित हुनुपरेको र यही सन्देश नेपाली कांग्रेसले जनतामा लिएर पुगेको बता ए ।
गोर्खामा भएको कार्यक्रममा संवोधन गर्ने नेताहरुले संसद बिघटनको निर्णय असंवैधानीक भएको बताए । अदालतमा मुद्धा परेको र अदालतले गर्ने फैसला काग्रेसलाई मान्य हुने नेताहरुको धारण रह्यो । गोरखामा केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डे, चिनकाजी श्रेष्ठ, महासमिति सदस्य राजनराज पन्त, भुगोल थापा, महिला संघकी अध्यक्ष मनकुमारी गुरुङ लगायतका नेताहरुले सभालाई संवोधन गरेका थिए ।
बिरोध कार्यक्रममा जिल्लाबाट नेतृत्व गरेका केन्द्रियदेखि नगर–गाउँ समितिका नेतृत्व पंक्तिहरुले बिभिन्न वडाहरुमा बोलेका थिए ।
बिरोध कार्यक्रममा सहभागी भएका कांग्रेस कार्यकर्ताहरुले कतै र्यालीपछि कोणसभा गरेका थिए भने कतै एकैठाउँमा भेला भएर कोणसभा गरेका थिए । उनीहरुले प्रधानमन्त्री ओली, ओलीले नेतृत्व गरेको कम्युनिष्ट पार्टीका बिरुद्ध नारावाजी गरेका थिए ।
कांग्रेसको बिरोध वडा–वडामाः के भने गण्डकी प्रदेशमा ?