नवलपुरः
देशको समग्र विकास व्यक्तिको आर्थिक विकासबाट मात्र संभव रहेको देवचुलीका नगर उप प्रमुख पार्वता तिवारीले बताएकी छन् ।
आज बिहिवार देवचुली ६ किर्तिपुरमा न्युन आय भएका व्यक्तिहरुको आयआर्जनको लागि बाख्रा वितरण कार्यक्रममा बोल्दै उपप्रमुख तिवारीले समग्र विकासका लागि सरकारका ३ तहहरु नै लागेको जिकिर गरिन् ।
कोरोना महामारीमा धेरैको रोजगारी गुमेको अवस्थामा स्थानीय तहले विभिन्न संस्थाहरुसँगको साझेदारीमा रोजगारी सृजनामा लागिपरेको बताईन् । आयआर्जनमा टेवा पुर्याउने उदेश्यले प्रदान गरिएका बाख्राबाट ब्यवसायिक बन्दै आत्मनिर्भरतातर्फ लाग्न सुझाव दिईन् ।
जागृति बाल तथा युवा सरोकार नेपालले नेपाल हिल्फे विटीकम जर्मनीसँगको साझेदारीमा देवचुली ६ किर्तिपुरमा आयआर्जन कार्यक्रम विगत ३ वर्षबाट सञ्चालन गरिाराखेको छ ।
संस्थाले आजसम्म चौथो चरण बाख्रा बितरण गर्दा यहाँका ८२ घरधुरीमा २ वटा जमुनापारी र खरी जातका पाठीहरु बितरण गरेको संस्थाका महासचिव दिपक शर्माले बताए । उनले प्रजनन्का लागि उन्नत बोका पनि उपलब्ध गराएको बताएका छन् ।
आज १७ घरमा २ वटाका दरले ३४ वटा पाठी वितरण गरेको जनाईएको छ । कार्यक्रममा संस्थाका सल्लाहकार खिमानन्द भुसाल, कार्यसमितिका पदाधिकारी राजु चापागाई, वडाध्यक्ष मिनबहादुर सोती लगायत वडाका जनप्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।