कृष्णनगर, कपिलवस्तु । नगपालिकाको एक सहिष्णु मौलाना अब्दुल मन्नान सल्फीको असामयिक निधन भएको छ । मौलाना सल्फी बिगत २४ बर्ष देखि कृष्णनगरमा रहेको जामिया सिराजुलवलुम अलसल्फिया शिक्षण गर्दै आएका थिए ।
राति मौलाना सल्फीको स्वास्थ्य अचानक बिग्रेर उनलाई उपचारको लागि बुटवल लगिरहदा बाटोमा उहाँको मृत्यु भएको कुरा विद्यालय प्रशासनले बताएको छ । मौलाना अब्दुल मन्नान सल्फीको असामयिक निधन प्रति स्तब्ध रहेको बिद्यालय प्रशासनले आज शोक सभाको आयोजना गरेको थियो ।
शोक सभामा सबै धर्मको मानिसहरुको उपस्थिति देखिएको थियो । सन् १९५९ दिसम्बरमा जन्मेका मौलाना अब्दुल मन्नान सल्फी एक सहिष्णु मौलाना थिए । उहाँ जाति धर्मलाई नहेरिकन गरिब, असहाय तथा बिपन्न मानिसहरुको मदत गर्दै आईरहेका थिए । जसले गर्दा वहाँ मुस्लिम समुदायमा मात्र नभई हिन्दुहरुको लागि पनि लोकप्रिय थिए ।
राष्ट्रिय मदरसा संघ नेपाल लगायत अन्य संघ संस्थाहरु द्वारा सम्मानित भएका मौलाना अब्दुल मन्नान सल्फीको शिष्यहरु नेपाल, भारतका साथै खाडी देशहरुमा पनि प्रशस्त भएको कुरा पूर्वमन्त्री ईश्वर दयाल मिश्रले बताएका छन् । कोरोना महामारीको कारण उत्पन्न भएको बिषम परिस्थितिमा शिष्यहरु उपस्थिति हुन नसकेको कुरा गर्दै पूर्वमन्त्री मिश्रले मौलाना सल्फीको बिलिनता बिद्यालय प्रशासनलाई मात्र नभई समग्र समाजलाई नै अविस्मरणीय रहने ठहर गरेका छन् ।
सहिष्णुता तथा मिलनसार व्यक्तित्व रहेका मौलाना सल्फी को आत्मालाई स्वर्गमा स्थान मिल्ने र शोकाकुल परिवारलाई धैर्यधारण गर्ने शक्ति प्रदान गर्ने कामना पनि पूर्वमन्त्रीले गरेका छन् । राष्ट्रिय मदरसा संघ नेपालका राष्ट्रिय अध्यक्ष डा. अब्दुल गनी अल्कुफीले नेपालको पहिलो उर्दू मासिक पत्रिकाको संरक्षक सल्लाहकार समेत रहेका मौलाना सल्फीको आत्मशान्तिको कामना गर्दै मौलाना एक ईमान्दार, सहयोगी तथा मिलनसार स्वाभाव का व्यक्ति भएको कुरा बताएका छन् ।
त्यसैगरी मदरसा बोर्ड प्रदेश नम्बर ५ को उपाध्यक्ष मौलाना मसहूद खाँ नेपालीले दिवंगत आत्मालाई स्वर्गमा स्थान मिल्ने कामना गर्दै मौलाना सल्फीको योगदान प्रति आफूलाई सधै आभारी रहने कुरा भनेका छन् । साथै स्तब्ध बनेका परिवारलाई धैर्यधारण गर्ने साहस प्रदान गर्ने कामना पनि गरेका छन् ।
राष्ट्रिय मदरसा संघ नेपालका अध्यक्ष डा. अब्दुल गनी अल्कुफीको अध्यक्षतामा आयोजित शोक सभाको प्रमुख अतिथि पूर्वमन्त्री ईश्वर दयाल मिश्र तथा बिशिष्ठ अतिथिद्वय प्रदेश नम्बर ५ मदरसा बोर्डको उपाध्यक्ष मौलाना मशहुद खाँ नेपाली र जामिया सिराजुलवलुम अलसल्फियाको उप-प्रधानाध्यापक शैख अब्दुल रशिद मदनी रहेका थिए ।
शोक सभामा ब्यापार संघको पूर्व अध्यक्ष गुरु शरण सिंह, चेम्बर आफ कामर्श कपिलबस्तुको जिल्ला अध्यक्ष माधव पोख्रेल, नेकपाको नगर कमिटी अध्यक्ष जाबेद आलम खाँ, हेरा शैक्षिक तथा मानवीय सेवा समाजका सचिव शैख जैश मक्की, खालिद रशिद, मदरसा जैद बिन साबिद का सहायक प्रधानाध्यापक हाफिज तारिक, नियाज अहमद लगायतको महानुभावहरुको उपस्थिति रहेको थियो । शोक सभामा रहेका ब्यक्तिहरुले सामाजिक दुरीलाई ध्यानमा राख्दै मास्क र सेनिटाईजरको सदुपयोग गरेका थिए ।