खगेन्द्र पराजुली , पुस १७, नवलपुर—
ड्राईभिङ स्कुल संघ नेपालको केन्द्रीय समितिको बैठक भोली शनिवार कावासोतीमा बस्ने भएको छ । नवलपुर ड्राईभिङ स्कुल संघको आतिथ्यतामा ब्यवसायीको समस्या, चालक अनुमतिपत्र आवेदन प्रक्रियामा देखिएका समस्या कोभिडका कारण ब्यवसायमा परेको असर, अवको ब्यवसायिक यात्रा लगायत ब्यवसायीहरुका समस्या समाधान केन्द्रित बिषयमा बैठक बस्न लागेको हो ।
बैठकको पूर्बसन्ध्यामा आज शुक्रवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा समितिका केन्द्रीय महासचिव उमेश सिकेले कोरोनाका कारण धेरै क्षेत्र झै ड्राईभिङ स्कुलहरु प्रभावित भएको बताए । उनले लगानी र सेवामा निकै ठूलो असर परेको बताए । “देशैभर ३ हजार ५ सय हाराहारी संघमा आवद्ध ब्यवसायीहरु छन्, ती सबैमा कोरोनाका कारण ३ अरवभन्दा बढी नोक्शानी पुगेको छ । १० हजारबढी प्रशिक्षक मजदुर छन् । यो अवधिमा सञ्चालकले उनीहरुलाई रोजगारबाट नहटाई हेर्नुपर्दा झनै ठूलो समस्या परेको छ ।” उनले गुनासो गरे ।
ब्यवसायलाई पूर्बवत रुपमा ल्याउन कठिन भएको भन्दै उनले अझै ५–७ बर्ष लाग्न सक्ने बताएका छन् । सरकारले यस्तो महामारीमा सबैक्षेत्र ठप्प हुदा राहत प्याकेजको ब्यवस्थापन नगर्दा दुख लागेको बताएका छन् ।
ड्राईभिङ स्कुल ब्यवसायिकका साथसाथै सामाजिक संस्था समेत भएकाले राज्यले हेर्न दृष्टिकोण ब्यवसायलाई जस्तै भएको बताए । उनले भने–हामी आत्मनिर्भरतासँगै रोजगारी सिर्जना गर्ने प्राबिधिक लाईनको स्कुल हो । जहाँ जनतादखी राष्ट्रपति, प्रधानमन्त्री–मन्त्रीसम्मको सेवामा लाग्ने दक्ष–प्राविधिकको उत्पादन हुन्छ । उनले चालक उत्पादन गर्ने स्कुलप्रति राज्य पनि उत्तरदायी भैदिन आग्रह गरे ।
उनले अनलाईन फर्म दर्ता शुरु भएपनि ब्यवस्थित हुन नसकेकेको बताएका छन् । १० महिनादेखी रोकिएको सेवा खुलाउँदा पनि सिमित कोटामा फाराम लिने प्रक्रिया सन्तोषजनक पनि हुन नसकेको बताएका हुन् ।
कार्यक्रको सञ्चालन गरेका नवलपुर ड्राईभिङ स्कुल संघका अध्यक्ष प्रबिण सापकोटाले आफूहरु राज्यको कानून, नीति नियमभन्दा बाहिर नगईकन ब्यवसाय सञ्चालन गरेको बताएका छन् । उनले दर्ता सम्वन्धि प्रक्रिया पुरा गरेका ब्यवसायी मात्र संघमा आवद्ध रहेको बताउँदै पछिल्लो समय कोरोना प्रभावपछि भने नविकरण हुन छुटेको हुनसक्ने बताए ।
कार्यक्रममा केन्द्रीय समितिका पुर्ब सदस्य नारायणप्रसाद आचार्य, नवलपुर ड्राईभिङ स्कुल संघका उपाध्यक्ष ठाकुर कोईरालाको उपस्थिति थियो ।