रुपन्देही । विगतका वर्षहरुमा आजको दिन रुपन्देहीका विभिन्न ठाँउठाँउमा तीज विशेष सांस्कृतिक कार्यक्रम तथा नाचगानले गाउँघर, सहर बजार, चोक, पार्टी प्यालेस र सार्वजनिक स्थल नै गुन्जायमान हुन्थ्यो ।
तीज व्रत बसेका नारीहरु तथा अन्य दर्शकहरूबाट भरिएको चोक, शिवालय, मठमन्दिर र सार्वजनिक स्थलहरु यो वर्ष खाली नै रहे । प्रत्येक वर्ष यी ठाउँहरुमा रातो सारी, रातो टीका, गरगहना र पोतेले सिङगारिएर हिन्दु धर्मका नारी अर्थात् तीज व्रत बसेका महिलाहरुद्वरा रात्री जागरण, पुजापाठ, भजन, गीतसङ्गीतसहितको नाचगान र रमाइलो झलक हेर्न टाढा टाढाबाट दर्शकहरुको हुल आउने गर्थ्यो ।
तर आज त्यस्तो कुनै किसिमको रमझम हेर्न नपाउँदा हिन्दूधर्मावलम्बीहरु र खासगरी हिन्दु नारीहरुको मन कतै कतै दुखित भएको छ । केही मानिसहरुसँगको कुराकानी गर्ने क्रममा आज हरितालिका तीज कसरी मनाउनु भयो भन्ने प्रश्न राख्दा "प्रत्येक सालको तीजमा घुमी घुमी दर खान्थ्यौ, खुवाउथ्यौ, मन्दिर र शिवालयमा भेला भइन्थ्यो तर लकडाउनले गर्दा अहिले मन्दिर, शिवालयहरु बन्द भएकोले घर घरमै बसेर परिवारसंगै मनाइयो र इष्टमित्र, साथिभाई, दिदीबहिनीहरुसँग फोनकै माध्यमबाट वर्षदिनको सुखदुःख साटासाट गरियो" भन्ने उत्तर सुन्दा एक्कासी अनुहार निन्याउरो भयो ।
तर कतै कतै यो कोरोना भाइरस (कोभिड-१९) ले परिस्थिति अनुसार चार्डपर्व मनाउनुपर्छ भन्ने एउटा पाठ पनि सिकाएको छ । ठुलो तामझाम, तडकभडक र खर्चिलो ढङ्गले मनाइँदै आइएको तीज पर्वपर्वमा परिस्थिति अनुसार सरल, कम खर्चिलो र मर्यादित ढङ्गले मनाउन सकिने एउटा नयाँ रिवाजको आगमन भएको छ । तस्बिरहरु : मनोज कुर्मी


