नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । आज बस्ने बैठकमा पार्टीका वरिष्ठ नेता रामाचन्द्र पौडेल समूहले बुझाएको विरोध पत्रका विषयमा छलफल हुने बताइएको छ ।
यसअघि सोमबार बसेको बैठकले कुनै निर्णय गर्न सकेको थिएन् । पौडेल समूहले गत असोजमा पार्टी सभापति शेरबहादुर देउवाले गरेका निर्णयहरु सच्याउन माग गर्दै विरोध पत्र दर्ता गराएको थियो ।
१६ बुँदे विरोधपत्रको वरिपरि रहेर समाधान खोज्नुपर्ने पौडेल पक्षको माग छ। देउवा पक्ष विगतका निर्णय विधानमा टेकेर भएको दाबी गर्दै निर्णय नसच्याउने पक्षमा छ।
शुक्रबारदेखि केन्द्रीय समितिको बैठक बोलाइएको छ। बैठकबाट महाधिवेशनको नयाँ कार्य तालिका र सरकारविरुद्ध विरोधका कार्यक्रमको निर्णय गराउन संस्थापन पक्ष लागेको छ। पौडेल पक्षले आफ्ना मागलाई प्राथमिकतामा राख्न दबाब दिँदै आएको छ।
सांसद सूर्यबहादुर केसीको निधनले मंगलबार बोलाइएको बैठक स्थगित भएको थियो ।
साभार : नेपाल न्युज