आर्थिक अवस्था नाजुक भएकी उनको उपचारार्थ वडाध्यक्ष सुनुवारद्वारा सहयोग रकम जुटाउन शुरु
७ कात्तिक, ओखलढुंगा । आफ्नै छोरीलाई गोली हान्ने एक पुरुषलाई कारागार चलान गरिएको छ ।
भरुवा बन्दुक प्रहार गरेर छोरीलाई गम्भीर घाइते बनाउने मोलुङ गाउँपालिका–७ पात्लेका ३३ वर्षीय डम्बरबहादुर तामाङ पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।
तामाङले १३ वर्षीया आफ्नै छोरी फुरीमाया तामाङम माथी भरुवा बन्दुक प्रहार गरेका थिए । उनले असोज १६ गते साँझ छोरी माथी बन्दुक प्रहार गरेका थिए।
बन्दुकको छर्रा लागेर फुरीमाया गम्भीर घाइते भएकी थिइन् । सोही विषयमा प्रहरीले आरोपित तामाङलाई असोज १७ गते पक्राउ गरेको जनाएको हो ।
ओखलढुंगा जिल्ला अदालतको आदेशमा तामाङलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
तामाङविरुद्ध हातहतियार खरखजना तथा ज्यान मार्ने उद्योगको मुद्दा चलाइएको थियो ।
दाहिने खुट्टाको घुँडाभन्दा माथि बन्दुकको छर्रा लागेर घाइते बालिकाको उपचार भइरहेको छ । आर्थिक अवस्था नाजुक भएकी उनको उपचारार्थ वडाध्यक्ष हेमबहादुर सुनुवारले सहयोग रकम जुटाउन शुरु गरेका छन् ।
अहिलेसम्म १६ हजार २७५ रुपैयाँ सहयोग उपलब्ध गराइएको वडाध्यक्ष सुनुवारले जानकारी दिएका हुन ।