पश्चिम नवलपरासी प्रहरीले बुधबार जिल्लाको सिमावर्ती क्षेत्रबाट ७ लाख ३६ हजार ४ सय मुल्य बराबरको अवैध मालसामान बरामद गरेको छ । बरामद गरिएका सामान मध्ये अधिकांश मटर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राजु लामाले जानकारी दिनुभयो । नेपालबाट भारत तर्फ लैजाँदै गरेको एक लाख ३६ हजार मुल्य बराबरको ३७ बोरामा १७ सय किलो सेतो मटर प्रहरी चौकी बसहीयाबाट खटिएको टोलीले प्रतापपुर गाउँपालिका वडा नम्बर ५ बाट नियन्त्रणमा लिएको छ ।
यस्तै ईलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको टोलीले प्रतापपुर गाउँपालिका वडा नम्बर ९ खजुरीपुलबाट ३ लाख २० हजार मुल्य बराबरको ८० बोरामा ४ हजार किलो मटर बरामद गरेको छ । यस्तै अवैध रुपमा नेपालबाट भारत लैजाँदै गरेको २२ हजार मुल्य बराबरको ८ बोरामा २ सय ७५ किलो मटर प्रहरी चौकी पाँचपेडाबाट खटिएको प्रहरी टोलीले प्रतापपुर गाउँपालिका वडा नम्बर ४ बर्दघाटेबाट बरामद गरेको छ ।
यता सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले पाल्हीनन्दन गाउँपालिका वडा नम्बर २ हरपुरबाट भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको एक लाख १२ हजार ४ सय बराबरको लेडिज कुर्ता सुरुवाल ५ थान, सुटको थान कपडा ३ थान, ध्वजा कपडा ४० मिटर, कासको दियो १७ पोका र रियलमी सि ११ मोबाईल ५ थान नियन्त्रणमा लिएको जनाएको छ ।
यस्तै नेपालबाट भारत तर्फ लैजाँदै गरेको २० हजार मुल्य बराबरको २ सय ५० किलो मटर सोही स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस स्थानबाट मात्रै एक लाख ३२ हजार ४ सय बराबरको अवैध सामान बरामद गरेको डिएसपी लामाले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पनि आज पाल्हीनन्दन गाउँपालिका वडा नम्बर २ मुडेराबाट भारतबाट भन्सार छली ल्याउँदै गरेको ६ हजार मुल्य बराबरको एक बोरा चिनी र नेपालबाट भारत तर्फ लैजाँदै गरेको एक लाख २० हजार मुल्या बराबरको १५ सय किलो मटर बरामद गरेको छ । प्रहरीले तस्करी गरेका सामान बरामद गरेपनि तस्करहरुलाई भने पक्राउ गर्न सकेको छैन । बरामद गरिएका सबै मालसामान महेशपुर भन्सार कार्यालयमा बुझाइएको डिएसपी लामाले जानकारी दिनुभयो ।