भदौ २ पोखरा । पोखरामा कोरोनाबाट थप एक जनाको ज्यान गएको छ । तनहुँकी महिलाको मृत्यु पश्चात कोरोना पुष्टि भएको हो । तनहुँको व्यास नगरपालिका १ निवासी ५० वर्षीया महिला पोखरा १० स्थित कास्की सेवा हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचार गराइरहेकी थिइन् । उनको हिजो सोमबार राति ११ बजेर ३६ मिनेटमा अस्पतालमै उपचारको क्रममा मृत्यु भएको थियो । श्रोतका अनुसार उनलाई निमोनिया भएपछि अस्पतालमा ल्याइएको थियो । उनी साउन ३२ देखि उपचाररत थिईन् । महिलामा मधुमेहसँगै मुटुरोगको समस्या रहेको पनि श्रोतले जनाएको छ । केहिबेर अघि मात्र प्राप्त नतिजाअनुसार उनमा कोभिड १९ पोजिटिभ देखिएको छ । यसबारे क्षेत्रीय स्वास्थ्य निर्देशनालयले केही जानकारी दिइसकेको छैन । नेपाली सेनाले नै आज उनको अन्तिम संस्कार गर्नेछ । यसको लागि तयारी भइरहेको छ । गण्डकी प्रदेशमा यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।
पोखरामा कोरोनाबाट थप एकको मृत्यु