काठमाण्डौ -स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजन प्रयोग गरिने उद्योगधन्दा केही समयका लागि बन्द गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले उद्योग मन्त्रालयलाई पत्र लेख्दै कोभिड–१९ का सङ्क्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिनका लागि उद्योगधन्दा केही समय बन्द गर्न आग्रह गरेको हो ।
मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले भारतमा सङ्क्रमणको अवस्था खराब भई अक्सिजन नपाएर सङ्क्रमितको मृत्यु भइरहेकाले नेपालमा पनि त्यस्तो अवस्था नआओस् भन्नका लागि त्यस्ता उद्योगधन्दा केही समय बन्द गर्न मन्त्रालयलाई आज पत्राचार गरिएको जानकारी दिए।