पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बूढीगण्डकी परियोजनाबारे उच्चस्तरीय र निष्पक्ष छानविनको माग गर्नुभएको छ । बुढीगण्डकी जलविद्युत आयोजनामा भ्रष्टाचार भएको प्रमाण ल्याउन नेपाली कांग्रेसले चुनौती दिएपछि डा. भट्टराईले छानविनको माग गर्नुभएको हो ।
पछिल्ला सरकारले कमिसनखोरहरूको संलग्नतामा बदनाम विदेशी कम्पनीलाई परियोजना दिएको र अहिलेसम्म अलपत्र रहेको भन्दै भट्टराईले छानविनको माग गर्नुभएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार विज्ञप्ति जारी गर्दै प्रमाण सार्वजनिक गर्न चुनौती दिएपछि भट्टराईले ट्वीटरमा बुढीगण्डकी जलविद्युत आयोजनामा भएको भ्रष्टाचारको छानविनमा लागि आफू सहयोग गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।
भट्टराईले केही दिनअघि गोरखामा आयोजित कार्यक्रममा बूढीगण्डकी आयोजनामा नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ९ अर्ब रुपैयाँ बाँडेर खाएको दावी गर्नु भएको थियो । त्यसको प्रमाण दिनसमेत आफू तयार रहेको भट्टराईको जिकिर थियो । मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालिसकेका भट्टराईले लगाएको आरोपलाई लिएर सामाजिक सञ्चालमा ओली, प्रचण्ड र देउवामाथि प्रश्न उठेको छ ।